नेप्सेमा साढे ५८ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.५८ अंकले बढेर २ हजार १ सय ११.२४ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो २.८५ प्रतिशतले वृद्धि हो । अघिल्ला तीन कारोबार दिन लगातार बढेको नेप्सेले मंगलबार पनि सोही प्रवृति पछ्याएको हो । मंगलबार कारोबारमा आएकामध्ये २ सय २० वटा कम्पनीको सेयर मूल्य बढ्यो, २२ वटाको घट्यो र बाँकी ४ वटाको स्थिर रहयो । मंगलबार ८२ हजार ७ सय ४६ वटा कारोबारबाट १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार रकम अघिल्लो कारोबार दिनको भन्दा बढी हो । गत आइतबार २ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।